खप्तडी खड्का समाज, अछामले विगत चार वर्षदेखि विशेष प्राथमिकताका साथ खप्तडी खड्का समुदायको वंशावली संकलन तथा लेखन कार्यलाई निरन्तर अगाडि बढाइरहेको जानकारी गराउन चाहन्छ। यस अवधिमा सुदूरपश्चिम र मध्यपश्चिमका विभिन्न जिल्लाहरूमा स्थलगत भ्रमण, भेटघाट, छलफल तथा बैठकहरू आयोजना गरी आवश्यक तथ्यांक तथा पारिवारिक विवरणहरू संकलन गर्ने कार्य सम्पन्न गरिएको छ।
हाम्रो उद्देश्य देशभरि छरिएर बसोबास गरिरहेका सम्पूर्ण खप्तडी खड्का परिवारहरूको वंशावलीलाई एउटै दस्तावेजमा समेट्ने रहेको छ। यसका लागि विभिन्न माध्यमबाट सूचना तथा जानकारी संकलनका लागि अनुरोधसमेत गरिएको थियो। देशव्यापी रूपमा वंशावली लेखन कार्य सम्पन्न गर्न सकिएमा यो प्रयास अझ प्रभावकारी, समृद्ध र ऐतिहासिक महत्वको बन्ने विश्वास हामीले राखेका छौं।
यद्यपि अपेक्षा गरिएअनुसार सबै क्षेत्रबाट आवश्यक जानकारी समयमै प्राप्त हुन नसकेकाले हालका लागि सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रलाई केन्द्रमा राखेर वंशावली लेखन कार्यलाई अगाडि बढाइएको छ। खुसीका साथ जानकारी गराउन चाहन्छौं कि यो महत्वपूर्ण अभियान अहिले मध्यम चरणमा पुगिसकेको छ र आगामी दिनहरूमा थप विवरण संकलन तथा प्रमाणीकरणको कार्य निरन्तर जारी रहनेछ।
खप्तडी खड्का समाज, अछाम सम्पूर्ण खप्तडी खड्का परिवार, बुद्धिजीवी, समाजसेवी तथा समुदायका सदस्यहरूलाई यस ऐतिहासिक कार्यमा आवश्यक सहयोग, सुझाव तथा पारिवारिक विवरण उपलब्ध गराई साथ दिन हार्दिक अनुरोध गर्दछ।
– धर्मराज खड्का
उपाध्यक्ष
खप्तडी खड्का समाज, अछाम






